अमेरिकाको विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित चार जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ। सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली प्रहार भएको हो। बेन्ड सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ।
घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन्। यद्यपि, मृत्यु हुने चार जनाको प्रारम्भिक विवरणमा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन। बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२ बजेर ५९ मिनेटमा विद्यालयबाहिर पार्किङ गरिएको एउटा कारमा गोली प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो।
गोली चलाएको आरोप लागेका व्यक्ति केही समयपछि मृत फेला परेका थिए। उनको मृत्यु प्रहरीको गोलीबाट भएको हो वा अन्य कुनै कारणले भन्नेबारे तत्काल स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ।घटनापछि प्रहरीले विद्यालयका कोठा–कोठामा खोजी गरी विद्यार्थी तथा अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्ने काम गरेको थियो। घटनामा घाइते हुनेको सङ्ख्या र उनीहरूको अवस्थाबारे भने तत्काल विवरण सार्वजनिक भएको छैन।
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक काश पटेलले घटनाको अनुसन्धानमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताएका छन्। ओरेगनकी गभर्नर टीना कोटेकले पनि घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएकी छन्। यस्तै, अमेरिकी सिनेटर जेफ मर्कलीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित विद्यार्थी, परिवार र बेन्ड समुदायप्रति समवेदना प्रकट गरेका छन्। घटनाबारे सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।

