बाढीपहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः४५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध रहेको जनाएको हो।

गत साउन १० गतेदेखि आएको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। प्रहरीले अर्को सूचना नभएसम्म उक्त सडकखण्ड बन्द रहने जनाएको छ। असोज ८ गतेदेखि आएको बाढीका कारण लमजुङको बेशीसहर हुँदै खाङ्सार जाने सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, असोज १० गते बिहान आएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा यातायात ठप्प छ।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाट र बौदिकाली गाउँपालिका–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले जनाएको छ।यस्तै, असोज १२ गतेको पहिरोका कारण हुम्लाको सिमकोट–हिल्सा सडकखण्डअन्तर्गत नाम्खा गाउँपालिका–४ यालबाङ र सिमकोट गाउँपालिका–७ ठाडोढुङ्गामा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box