बाढीपहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

काठमाडौँ । केही दिनदेखि जारी अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका मुख्य राजमार्ग, लोकमार्ग तथा भित्री सडक प्रभावित भएका छन् । नेपाल प्रहरी र स्थानीय प्रशासनका अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध हुनुका साथै जोखिमका कारण कतिपय सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको बेनीघाट रोराङस्थित कृष्णभीर र गजुरी तथा तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनतर्फ नारायणगढ–मुग्लिन सडकमा पनि ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक बन्द गरिएको छ ।

काभ्रेको रोशी गाउँपालिकास्थित चारसयवेशी र गिम्दीवेशीमा पहिरो खस्दा बिपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । जोखिमलाई ध्यानमा राख्दै काभ्रे र सिन्धुली क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अरनिको राजमार्गअन्तर्गत धुलिखेलको पकुचामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिकास्थित टाकुर्चे र पाङदुरडोलमा लेदो तथा ढुङ्गा खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ । त्रिभुवन राजपथमा साना तथा यात्रुवाहक सवारीका लागि निश्चित समय तोकिएको छ भने १० चक्काभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई इन्धन तथा ग्यासबाहेक सञ्चालनमा रोक लगाइएको छ । टोखा–छहरे सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाको उत्तरगया–खाल्टे क्षेत्रमा त्रिशूली नदीको कटान र बाढीका कारण पासाङल्हामु राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । स्याफ्रुबेँसी जान टोखा–छहरे, विदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै धुन्चे पुग्ने एकलेनको वैकल्पिक कच्ची सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

ओखलढुङ्गाको भँडारे खोलामा लेदो बाढीले करिब १५ मिटर सडक क्षति पुर्‍याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । उदयपुर र सोलुखुम्बु खण्डमा पनि रातिको समयमा आवागमन बन्द गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका मुख्य तथा भित्री सडकमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

गण्डकी प्रदेशमा स्याङ्जाको पुतलीबजारस्थित तिनधारेमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला–कानाबगर र पर्वतको कुश्मा–तमादी खोलामा लेदो पहिरो खस्दा मध्यपहाडी लोकमार्ग ठप्प भएको छ । पर्वतमा रातिको समयमा आवागमनमा रोक लगाइएको छ ।

खरखरे भिर र मनाङको खोत्रोमा पहिरो खस्दा बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा बन्द भएको छ । मनाङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध छ भने मुस्ताङको कालोभिर र सेल्फीडाँडामा लेदो खसेपछि जोमसोम–कोरला सडक ठप्प भएको छ । कास्की, मुस्ताङ र म्याग्दीमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

दाङको ग्वारखोलास्थित पुरानो पुलमुनिको माटो खसेपछि तुलसीपुर–घोराही सडक बन्द भएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी र तुलसीपुर–कालीमाटी सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ । सल्यानको खारखोलामा पहिरो खस्दा राप्ती राजमार्गसमेत अवरुद्ध भएको छ ।

गुल्मीको स्यालबिसौना, रोल्पाको माडीचौर तथा गरगरेमा पहिरो खस्दा मदन भण्डारी र सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । बागलुङको बेलबगर, गुल्मीको राक्से र पातीखोला, नवलपरासी पूर्वको घुमाउरीघाट तथा पाल्पाको कासिबनमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोरका विभिन्न खण्ड पनि बन्द भएका छन् । अर्घाखाँचीको बरबोटमा पहिरो खस्दा सन्धिखर्क–गोरुसिङ्गे सडक पूर्ण रूपमा बन्द भएको छ ।

कालिकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग र हुम्लाको खच्चामा पहिरो गएपछि कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । डोटीमा असोज १० गते बिहानदेखि ११ गते बिहान ७ बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ भने दार्चुलाको ऐरिछिनामा ठूलो ढुङ्गा खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सम्बन्धित प्रशासनले वर्षा र बाढीपहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box