कृष्णभीरमा पुनः सडक भासियो, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरैपहिरो

नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पुनः सडक भासिएको छ । गत भदौ १४ गते सडक भासिएर अवरुद्ध भएको राजमार्ग असोज १ गते डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । तर, शुक्रबार बिहान पुनः करिब २५ मिटर सडक भासिएको हो ।

पृथ्वी राजमार्ग मुग्लिन–नौबिसे आयोजना पश्चिम खण्डका इन्जिनियर धीरन ढकालका अनुसार डाइभर्सन सडकसँगै निर्माण गरिएको ग्याबिन वाल भासिएर त्रिशूली नदीतर्फ खसेपछि सडकमा क्षति पुगेको हो । सडक पूर्ण रूपमा अवरुद्ध नभए पनि कृष्णभीरको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

त्रिशूली नदीको निरन्तर कटान तथा वर्षाका कारण सडक भासिने क्रम नरोकिएको आयोजनाले जनाएको छ । कृष्णभीरमा सडक भासिनुसँगै माथिबाट पहिरोसमेत खसेको थियो । उक्त पहिरो सफा गरिएको छ । सडक तथा भिरको स्थिरीकरण र मजबुतीकरणको काम भइरहेका बेला पुनः सडक भासिएको हो ।

आयोजनाकी प्रमुख सजना अधिकारीका अनुसार हाल सञ्चालनमा रहेको सडकलाई मध्यकालीन रूपमा सुरक्षित बनाउन भिर स्थिरीकरण तथा मजबुतीकरण, बायोइन्जिनियरिङ, पानीको उचित निकासका लागि नाली निर्माण र सडक कालोपत्रेसहितका काम गर्न बाँकी छन् ।

वर्षाको जोखिमलाई ध्यानमा राख्दै कृष्णभीरमा तत्कालीन सुरक्षाका उपायसमेत अपनाइएको इन्जिनियर ढकालले बताउनुभयो । काटिएको भिर तथा खुकुलो माटोमा पानी प्रवेश गर्न नदिन प्लास्टिक तथा त्रिपालले छोपिएको छ । यसले पहिरोको जोखिम कम गर्नुका साथै सतहमुनिको नालीबाट पानीको निकास सहज बनाउन सहयोग पुग्ने जनाइएको छ ।

कृष्णभीरमा देखिएको चिरालाई रातो माटो र सिमेन्टको मिश्रण प्रयोग गरी ‘क्र्याक सिलिङ’ गरिएको छ । सिल गरिएको भागलाई प्लास्टिकले छोपेर वर्षाको पानीलाई नियन्त्रण गरी क्यास्केडतर्फ निकास दिने व्यवस्था गरिएको छ । माथिल्लो जमिनमा पानी सङ्कलन गरी सुरक्षित निकासका लागि ‘क्याच ड्रेन’ निर्माणको तयारीसमेत भइरहेको छ ।

कृष्णभीरको माथिल्लो भागमा यसअघि १० देखि १५ मिटरसम्म लम्बाइका पाँचदेखि सातवटा चिरा परेका थिए । राजमार्ग खुलाउन करिब २७० मिटर लामो र साढे सातदेखि १० मिटरसम्म चौडा डाइभर्सन निर्माण गरिएको थियो । भित्तातर्फ पाँचदेखि ३० मिटरसम्मको उचाइमा कटान गरी बनाइएको डाइभर्सनमा उच्चस्तरको ग्राभेल प्रयोग गरी ४० सेन्टिमिटर मोटाइको सब–बेस राखिएको थियो । माथिल्लो भिर सुरक्षित राख्न ‘बेन्चिङ’ प्रविधिसमेत अपनाइएको थियो ।

यसैबीच पृथ्वी राजमार्गको धारापानी क्षेत्रमा पनि करिब २० मिटर सडक भासिएको छ । मुग्लिन, ज्यामिरेघाट, परेवाभिर, शीतलबजारलगायत दर्जनौँ स्थानमा पहिरो गएको आयोजनाले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पनि ८० भन्दा बढी स्थानमा ठूलासाना पहिरो गएको छ । उक्त सडकको ३१ किलोमा सडक भासिएको छ भने कालिखोला, सिमलताल, तुइनखोला, नाम्सीखोला, चारकिलो र मौरीखोलालगायत क्षेत्रमा ठूला पहिरो जाने क्रम जारी रहेको जनाइएको छ ।

Facebook Comments Box