भोटेकोशी बाढीको एक महिनाः खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको एक महिना पुगेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन् ।

१३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावितमध्ये केही अझै आश्रयस्थलमा रहेका छन् । बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण र अन्य सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन् ।

चार खर्बभन्दा बढीको क्षति

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ । द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ । बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन् । ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।

यस्तै, ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजना प्रभावित भएका छन् । ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ भने ३७ मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन् । ६८ झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।

बाढीबाट करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० परिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएको आकलन गरिएको छ । उत्पादन क्षेत्रतर्फ १ हजार ८०६ हेक्टर कृषि बालीमा क्षति पुगेको छ भने पशुपालन, पक्षीपालन तथा माछापालनमा समेत असर परेको छ । १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान पनि प्रभावित भएका छन् । क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तथा सडक सञ्जाल पुनःस्थापना लगायतका काम जारी रहेका छन् ।

बाढीपछि रेडक्रसको आपत्कालीन प्रतिकार्य

भोटेकोशी बाढी आएलगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंको पहलमा आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गरिएको थियो ।

त्यसपछि नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकलाई प्रभावित क्षेत्रमा परिचालन गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीको नेतृत्वमा टोलीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी प्रतिकार्य अघि बढाएको थियो ।

रेडक्रसका स्वयंसेवकले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग गरेका थिए । आपत्कालीन कोषमार्फत खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, म्याट, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका लागि डेथ बडी ब्याग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किटलगायत सामग्री तथा सेवा प्रभावित क्षेत्रमा पुर्‍याइएको रेडक्रसले जनाएको छ ।

आइएफआरसीका महासचिव चापागाईंले आपत्कालीन कोष समयमै निकासा हुँदा बाढीको प्रारम्भिक प्रतिकार्यमा सहयोग पुगेको बताउनुभयो । उहाँका अनुसार स्वयंसेवकसहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न र तत्काल राहत सामग्री उपलब्ध गराउन सम्भव भएको थियो ।उहाँले भोटेकोशी बाढीको प्रतिकार्यलाई जलवायु संवेदनशील मानवीय प्रतिकार्यको एउटा महत्त्वपूर्ण नमुनाका रूपमा लिन सकिने बताउनुभयो ।

एक महिनामा हजारौँ प्रभावितलाई सहायता

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी गएको सुरुआती दिनदेखि नै खोज तथा उद्धारसँगै राहत तथा मानवीय सहायता निरन्तर जारी छ । हालसम्म आवास तथा गैरखाद्य सामग्रीतर्फ १ हजार २१८ सेट, ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ । करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ ।

एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ । १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको रेडक्रसले जनाएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक र प्राथमिक मनोसामाजिक सहयोगबाट १ हजार ७१० जना लाभान्वित भएका छन् ।

रेडक्रसका आपत्कालीन स्वास्थ्य क्लिनिकबाट १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा अन्य आवश्यक सेवा उपलब्ध गराइएको छ । परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनातर्फ २ हजार २९१ खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ । यस्तै, नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको छ ।

धादिङ र नुवाकोटका परिवारलाई नगद सहयोग

बहुउद्देश्यीय नगद तथा भौचर सहायता कार्यक्रमअन्तर्गत धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको छ । समुदायका गुनासा, सुझाव तथा आवश्यकता सङ्कलनअन्तर्गत करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव प्राप्त गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरणअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ । बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । प्रभावित समुदायलाई सूचना तथा आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ ।

बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन, राहतमा पहुँच तथा नगद सहायता लगायतका विषयमा सूचना सामग्री तयार गरी सामाजिक सञ्जाल र रेडियोमार्फत प्रचारप्रसार गरिएको छ ।

पुनःस्थापना र पुनर्लाभमा जोड

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ । प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइजस्ता क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको रेडक्रसले जनाएको छ ।

रेडक्रसले विपद्का समयमा सहयोग गर्ने अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक र सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

Facebook Comments Box