गुल्मीको भार्सेमा १२ घण्टामा ११४ मिलिमिटर वर्षा

काठमाडौँ । पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका अधिकांश स्थान तथा मधेस, कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा, बागमतीका धेरै तथा कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरभन्दा कम भए मध्यम, ५० देखि १०० मिलिमिटरभन्दा कम भए भारी र १०० देखि २०० मिलिमिटरभन्दा कम भए धेरै भारी वर्षा मानिन्छ । २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भनिन्छ ।

त्यस्तै, १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतलाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावनालाई ‘अधिकांश स्थान’ भनिन्छ ।

Facebook Comments Box