गण्डकीसहित पाँच प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा कमजोर हुने सम्भावना छ । हाल देशभर अधिकांश बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बागमतीका केही र कोशी तथा मधेसका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा र कोशी तथा बागमतीका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका अधिकांश तथा मधेस, कोशी, बागमती र गण्डकीका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बदली तथा कोशी र मधेसमा सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमतीका धेरै र कोशीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा रातिको समयमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

