इन्द्रजात्राको कथा : स्वर्गका राजा इन्द्रलाई चोरको संज्ञा दिइने पर्व
काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ पनि एक हो। काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवा बस्तीमा विशेष महत्वका साथ मनाइने यो पर्व विभिन्न कथा, किंवदन्ती, धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छ।
संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार इन्द्रजात्राको मूल कथा स्वर्गका राजा इन्द्रसँग सम्बन्धित छ। किंवदन्तीअनुसार पृथ्वीलोकमा भदौ महिनामा फुल्ने पारिजात फूल स्वर्गमा पाइँदैनथ्यो। पारिजात फूल र एक प्रकारको फल लिन इन्द्र पृथ्वीलोकमा आएको मानिन्छ।
पृथ्वीलोकमा आएपछि इन्द्रले स्थानीय राजा ‘मुपात्र’को अनुमतिबिना पारिजात फूल र फल चोर्ने प्रयास गरेको र पृथ्वीवासीले थाहा पाएपछि उनलाई पक्राउ गरेको किंवदन्ती छ। त्यसपछि इन्द्रलाई चोरेको पारिजात फूल र फलसहित दोबाटो तथा चौबाटोमा आठ फन्को डोरीले बाँधेर राखिएको मानिन्छ।
इन्द्रकी आमाले छोरालाई पृथ्वीवासीले पक्राउ गरेको थाहा पाएपछि ‘ऐरावत हात्ती’ अर्थात् ‘पुलु किसी’ पठाएर उद्धार गरेको कथा छ। हुस्सु छरेर पृथ्वीवासीले नदेख्ने गरी इन्द्रलाई स्वर्ग फर्काइएको किंवदन्तीका आधारमा इन्द्रजात्रा मनाउने परम्परा सुरु भएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्।
काठमाडौँ र भक्तपुरमा फरक किंवदन्ती
इन्द्रजात्राको कथा काठमाडौँ र भक्तपुरमा केही फरक रहेको श्रेष्ठको भनाइ छ। काठमाडौँको किंवदन्तीमा पारिजात फूल चोर्न स्वयं इन्द्र पृथ्वीलोक आएको उल्लेख छ भने भक्तपुरको कथामा इन्द्रका छोरा ‘जयन्त’ पारिजात फूल चोर्न आएको मानिन्छ।
इन्द्रजात्राको मुख्य पात्र स्वर्गका राजा इन्द्र भए पनि यहाँ उनलाई चोरको रूपमा प्रस्तुत गरिएको छ। त्यसैले जात्राका क्रममा इन्द्रलाई दोबाटो र चौबाटोमा पाता कसेर राख्ने परम्परा रहेको बताइन्छ।
किंवदन्तीअनुसार पारिजात वर्षमा एकपटक मात्र फुल्छ। रुखबाट सिधै टिप्न नहुने र झरेको फूल मात्र टिप्न मिल्ने मान्यता छ। पारिजात पृथ्वीलोकमा मात्र पाइने भएकाले यसको फूल झर्न थालेपछि दसैँसँगै हिउँद ऋतु सुरु हुने संकेतका रूपमा समेत लिइने गरिन्छ।
काभ्रेको नालाबाट ल्याइन्छ इन्द्रध्वज
इन्द्रजात्राको अर्को महत्वपूर्ण पक्ष ‘यँसी’ अर्थात् इन्द्रध्वज हो। इन्द्रजात्रामा ठड्याइने इन्द्रध्वज काभ्रेपलाञ्चोकको नालाबाट ल्याउने परम्परा छ। नेपाल भाषामा यसलाई ‘यम्बद्यो’ भनिन्छ।
विभिन्न विधि र विधान पूरा गर्दै करिब एक सातासम्म मनाइने इन्द्रजात्रा नेपाल मण्डलको सांस्कृतिक पहिचान र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो।
काठमाडौँमा इन्द्रजात्राका क्रममा जीवित देवी कुमारीलाई रथमा राखेर पुरानो बस्तीका विभिन्न मार्गमा परिक्रमा गराउने परम्परा छ। काठमाडौँका अन्तिम राजा जयप्रकाश मल्लले इन्द्रजात्रामा कुमारी जात्रालाई विशेष रूपमा जोडेको किंवदन्ती छ।
भक्तपुरमा भने इन्द्रजात्राको अन्तिम दिन विभिन्न विधिविधानसहित जात्रा मनाउने चलन छ। दोबाटो वा चौबाटोमा ठड्याइएको इन्द्रध्वज ढाल्न पृथ्वीका राजा मुपात्र अङ्गरक्षकसहित आउने किंवदन्ती रहेको संस्कृतिविद् श्रेष्ठ बताउँछन्। भक्तपुरमा इन्द्रजात्राको अन्तिम दिन ऐरावत हात्ती र मसान भैरवको जात्रा पनि गरिन्छ।
निरङ्कुशताविरुद्ध जनशक्तिको प्रतीक
संस्कृतिविद् श्रेष्ठका अनुसार इन्द्रजात्रालाई जनशक्तिको उदयसँग जोडेर हेर्ने परम्परासमेत छ। किंवदन्तीमा स्वर्गका राजा इन्द्रले पृथ्वीलोकका जनतालाई दबाउन खोजेको र जनताले उनलाई चोरको संज्ञा दिँदै दण्ड दिएको प्रसंग रहेको छ।
यस्तै, भगवान् श्रीकृष्णले पहाडले छेकेर पृथ्वीलोकलाई इन्द्रको शासनबाट जोगाएको कथा पनि इन्द्रजात्रासँग जोडिन्छ। पृथ्वीलोक श्रीकृष्णको पक्षमा लागेपछि इन्द्र क्रोधित भएर वर्षा गराएको भन्ने किंवदन्ती छ। यही कारण इन्द्रलाई वर्षा रोक्न आग्रह गर्दै चङ्गा उडाउने परम्परा रहेको बताइन्छ।
आठ दिनसम्म मनाइन्छ इन्द्रजात्रा
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु हुने इन्द्रजात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसँगै सम्पन्न हुन्छ। आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधिसहित यो पर्व मनाइन्छ।
संस्कृतिविद् श्रेष्ठका अनुसार इन्द्रजात्रा नेपाल मण्डलमा आजभन्दा करिब १५ सय वर्षअघि नै इन्द्रध्वज खडा गरेर धुमधामका साथ मनाउने गरिएको थियो। विभिन्न कालखण्डमा शासकहरूले जात्रामा थप विधि तथा परम्परा समेट्दै लगेका थिए।
यसरी इन्द्रजात्रा धार्मिक आस्था, ऐतिहासिक स्मृति, लोककथा, कला, नाचगान र सामाजिक एकताको संयोजन बनेको छ। पुर्खाको सम्झना, देवताको सम्मान तथा स्वर्ग र पृथ्वीलोकबीचको सम्बन्धको सांस्कृतिक प्रतीकका रूपमा समेत यो पर्वलाई लिइन्छ।

