बाढीपहिरोका कारण काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडक प्रभावित

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार काभ्रे, रसुवा, नुवाकोट र धादिङका सडकमा अवरोध तथा जोखिम देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । असोज ६ गते साँझदेखि बिहानसम्मको अवस्था हेरेर मात्र सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

रसुवामा मुख्य राजमार्गका विभिन्न स्थान बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएका छन् । नुवाकोटको टोक्खा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घेचेटखोलामा बाढी तथा पहिरोको जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । उक्त व्यवस्था अर्को सूचना नभएसम्म लागू हुने प्रहरीले जनाएको छ ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ । यस्तै, धादिङको पृथ्वीराजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र शीतलबजार क्षेत्रमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ । प्रहरीले बाढी, पहिरो तथा मौसमको अवस्था हेरेर आवश्यक सतर्कता अपनाउँदै मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Facebook Comments Box