पोखराबाट दुबईमा आजदेखि फ्लाई दुबईको नियमित उडान
पोखरा । सञ्चालनमा आएको लामो समयपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्न लागेको हो ।
फ्लाई दुबईको जहाज आज साँझ ६ः१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्नेछ भने साँझ ७ः१५ बजे पोखराबाट यात्रु लिएर दुबईका लागि उड्नेछ । कम्पनीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट पोखराका लागि दैनिक उडान सञ्चालन गर्नेछ । पहिलो उडानबाट आउने विमानलाई पोखरा विमानस्थलमा पानीको फोहरासहित स्वागत गर्ने तयारी गरिएको छ । यद्यपि, यसअघि तय गरिएको सार्वजनिक कार्यक्रम भने रद्द गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक प्राविधिक तथा भौतिक पूर्वाधारको तयारी पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएपछि केही वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे पनि नियमित उडानले निरन्तरता पाउन सकेको थिएन ।
विमानस्थलमा अध्यागमन, भन्सार तथा सुरक्षा व्यवस्थालाई थप चुस्त बनाइएको छ । फ्लाई दुबईले यो सेवा एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सञ्चालन गर्ने भएकाले दुबईलाई ट्रान्जिट बनाएर विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सहज हुने बताइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई विश्व हवाई सञ्जालसँग जोड्न सहयोग पुग्ने बताए । उनका अनुसार यसबाट पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
नियमित उडान सुरु हुन लागेसँगै पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा स्थानीय उत्साहित भएका छन् । पहिलो उडानका यात्रुलाई पर्यटन व्यवसायीले खादा तथा मालासहित स्वागत र बिदाइ गर्ने तयारी गरेका छन् । होटल तथा पर्यटन व्यवसायीले यात्रुका लागि छुट प्याकेज, उपहार कुपन, सूचना डेस्क तथा निःशुल्क पिकअप सेवासमेत घोषणा गरेका छन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई नियमित उडानलाई पोखराको पर्यटनका लागि महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले यसबाट विदेशमा रहेका नेपालीलाई काठमाडौँ हुँदै यात्रा गर्नुपर्ने बाध्यता कम हुने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले भने उडानलाई पर्यटनसँगै गण्डकी प्रदेशका कृषि तथा औद्योगिक उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल एक सय ४६ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ । ती उडानबाट तीन हजार आठ सय २८ यात्रुले आवतजावत गरेका छन् । विमानस्थलका अनुसार चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा करिब एक वर्ष नियमित उडान सञ्चालन भएको थियो ।
अन्य केही गन्तव्यमा पनि चार्टर्ड उडान भएका छन् । अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विमानस्थलले वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा यात्रु सेवा शुल्कमा समेत छुट दिँदै आएको जनाएको छ ।

