बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गको यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै विभिन्न सडकखण्डमा अवरोध तथा यातायात सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो ।

कोशी प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–४ नेता भिरमा असोज २ गते बिहान पहिरो खसेपछि कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेशअन्तर्गत काभ्रेको बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेष व्यवस्था गरिएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने तथा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिअनुसार १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढीपहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । यस्तै, नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढी आएपछि पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

धादिङ हुँदै जाने पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो हटाएर यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ । बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला र शीतलबजारमा खसेको पहिरो हटाएपछि सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अवरुद्ध सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र प्रहरी टोली परिचालन गरिएको छ ।

Facebook Comments Box