क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा जिल्ला कारागार गुल्मीमा व्यवस्थापन चुनौती

गुल्मी । २५ जना कैदीबन्दी राख्न सक्ने क्षमता रहेको जिल्ला कारागार गुल्मीमा हाल एक सय नौ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी हुँदा बासस्थान, खेलकुद, सीप विकास तथा आयआर्जनका गतिविधि सञ्चालनमा समस्या भएको छ । जिल्ला कारागार कार्यालय गुल्मीका जेलर मेघप्रसाद पोखरेलका अनुसार ‘ङ’ वर्गको उक्त कारागारमा हाल २४ जना थुनुवा र ८५ जना कैदी गरी कुल एक सय नौ जना रहेका छन् ।

कारागारको भवन साँघुरो भएकाले कैदीबन्दी व्यवस्थापनमा चुनौती थपिएको जेलर पोखरेलले बताउनुभयो । पर्याप्त खेलमैदानको अभावमा खेलकुद गतिविधि सञ्चालन गर्न कठिनाइ हुनुका साथै सीपमूलक तालिम र आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि समेत आवश्यक स्थान अभाव रहेको उहाँको भनाइ छ ।

“कैदीबन्दीको इच्छा र आवश्यकताअनुसार सीप विकास तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न पर्याप्त खाली ठाउँ छैन,” उहाँले भन्नुभयो, “कारागारमा व्यवस्थित बासस्थान, खेलकुदका लागि पर्याप्त स्थान तथा उद्यम गर्न चाहने कैदीबन्दीका लागि आवश्यक पूर्वाधार हुनुपर्छ ।”

उहाँका अनुसार कारागार भवन जीर्ण बन्दै गएको छ भने पर्खालसमेत भत्किन थालेकाले सुरक्षा र बसोबास व्यवस्थापनमा थप चुनौती देखिएको छ । कारागारमा स्वास्थ्य सेवाको समस्या पनि विगतमा लामो समयसम्म रहेको थियो । वरिष्ठ अहेवको दरबन्दी भए पनि कर्मचारी अभावका कारण बिरामी कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था रहेको थियो ।

२०७७ साल जेठदेखि स्वास्थ्यकर्मी काजमा रहेपछि सेवा प्रभावित भएको थियो । पछिल्लो दुई वर्षदेखि स्वास्थ्यकर्मीको व्यवस्था भएपछि कारागारमै नियमित स्वास्थ्य परीक्षण हुन थालेको र कैदीबन्दीलाई स्वास्थ्य सेवा लिन सहज भएको जेलर पोखरेलले जानकारी दिनुभयो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कारागारलाई केवल बन्दी राख्ने स्थानका रूपमा नभई सुधारगृहका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पछिल्लो समय केही सुधार भए पनि ती पर्याप्त नभएको उल्लेख गर्दै उहाँले कारागारको भौतिक पूर्वाधार र कैदीबन्दीको आधारभूत आवश्यकतामा राज्यले थप ध्यान दिनुपर्ने बताउनुभयो ।

Facebook Comments Box