आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा जलवायु परिवर्तनका विषयमा विषयविज्ञसँग छलफल तथा संयुक्त राष्ट्रसङ्घीय महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका सम्बन्धमा छलफल हुने कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान सवा ११ बजे बस्नेछ । बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति तथा निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलन र अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा विषयविज्ञ तथा सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने कार्यसूची रहेको छ ।

