भोटेकोशी बाढीमा १ हजार ३ सय ९० शव फेला
काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ३ सय ९० जनाको शव फेला परेको छ । प्राप्त विवरणअनुसार रसुवामा १ सय ८६, नुवाकोटमा २ सय २, धादिङमा ७१, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३० र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।
फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ५३ गरी कुल ३ हजार १ सय ३९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । पहिचान हुन बाँकी १ हजार ३ सय ५४ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढीमा बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ८१ जनालाई राखिएको छ ।

