आज हरितालिका तीज, शिवालयमा व्रतालु महिलाको घुइँचो
काठमाडौँ – आज हरितालिका अर्थात् तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विशेषगरी हिन्दू धर्मावलम्बी महिलाले महादेवको पूजा–आराधना गरी व्रत बस्ने प्रचलन छ । धार्मिक विश्वासअनुसार भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुन्छ । तीजको व्रत बस्ने महिलाले अघिल्लो दिन साँझ दर खाने प्रचलन छ । दरमा विशेषगरी दूधबाट बनेका पौष्टिक परिकार खाने गरिन्छ ।
तीजलाई महिलाले वर्षभरि आफूले भोगेका दुःख, पीडा र मर्का गीत तथा नृत्यमार्फत पोख्ने पर्वका रूपमा समेत मनाउँदै आएका छन् । विशेषगरी जन्मघर छाडेर कर्मघर पुगेपछि भोगेका दुःख, पीडा र पारिवारिक अवस्थालाई तीजका गीतमार्फत अभिव्यक्त गर्ने परम्परा रहिआएको छ ।
पछिल्ला वर्षहरूमा भने तीजका नाममा बढ्दै गएको उच्छृङ्खलता, तडकभडक र खर्चिलो प्रवृत्तिप्रति चिन्ता व्यक्त हुन थालेको छ । तीजको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु महिलाको घुइँचो लाग्नेछ । भक्तजनले शिव–पार्वतीको पूजा, आराधना तथा दर्शन गर्नेछन् ।
हरितालिका तीजसँग पार्वतीको तपस्या र महादेवलाई पति रूपमा प्राप्त गरेको पौराणिक कथन जोडिएको छ । पौराणिक मान्यताअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसेर कठोर तपस्या गरी महादेवलाई पति पाउने वरदान प्राप्त गरेकी थिइन् ।
पार्वतीको इच्छाविपरीत पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाएको कथन छ । पार्वतीको इच्छा विपरीत विवाह हुन लागेको थाहा पाएपछि साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखेका थिए ।
त्यही स्थानमा पार्वतीले निराहार व्रत तथा तपस्या गरी महादेवलाई पति रूपमा प्राप्त गरेको पौराणिक विश्वास छ । साथीहरूले पार्वतीलाई हरण गरी लुकाएर राखेको दिन भाद्र शुक्ल तृतीया भएकाले सोही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।

