चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण, आन्तरिक पर्यटक बढ्दै

म्याग्दी  । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार, मङ्गला गाउँपालिका, चिनाकोट आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाखभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको हो।

चिनाकोट संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म प्रदेश सरकारले रु. ४० लाख, मङ्गला गाउँपालिकाले रु. आठ लाख र आमा समूहले रु. दुई लाख लगानी गरेका छन्।

उक्त बजेटबाट एक किलोमिटरभन्दा बढी पक्की तथा करिब दुई किलोमिटर कच्ची पदमार्ग र सडक, दृश्यावलोकनस्थल, आश्रयस्थल तथा खानेपानीको व्यवस्था गरिएको छ। बरञ्जा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूहको समेत योगदान रहेको छ। पूर्वाधार निर्माणका क्रममा स्थानीयवासीले कुल बजेटको १० प्रतिशत बराबर श्रमदान गरेका छन्।

देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालका अनुसार पूर्वाधार निर्माण भएपछि यसअघि सुनसान रहने चिनाकोटमा आन्तरिक पर्यटक आउन थालेका छन्। सुरक्षित रूपमा पुग्न सकिने पदमार्ग बनेपछि यहाँ घुम्न आउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको चिनाकोटबाट सूर्योदयसँगै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। बरञ्जाको शिरमा रहेको चिनाकोटबाट म्याग्दीका पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल र नागबेली परेर बगेको म्याग्दी नदीसमेत अवलोकन गर्न सकिन्छ।

स्थानीयका अनुसार भुरे–टाकुरे राजाको पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार रहेको थियो। दरबारका भग्नावशेष, खाद्यान्न पिस्न प्रयोग हुने जातोलगायत ऐतिहासिक सामग्री अझै त्यहाँ रहेका छन्। रानीको कपाल कोर्ने ढुङ्गा तथा ‘बेहुला’ र ‘बेहुली’ नामका ढुङ्गासमेत चिनाकोटमा अवलोकन गर्न सकिन्छ।

चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग भएका हातहतियार पनि संरक्षणमा रहेका छन्। मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनका अनुसार बर्खायामबाहेक अन्य समयमा बिदा मनाउन तथा क्याम्पिङ गर्न पर्यटक आउने गरेका छन्। एकान्त र शान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेका लागि आवश्यक भाँडावर्तनको समेत व्यवस्था गरिएको छ।

चिनाकोट नजिकैको घारसुन्ने डाँडामा पनि दृश्यावलोकनस्थल निर्माण गरिएको छ। पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गालाई घेराबार गरी त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ। म्याग्दी सदरमुकाम बेनी बजारबाट तातोपानी र बरञ्जा हुँदै करिब एक घण्टा गाडी यात्रापछि चिनाकोट पुग्न सकिन्छ। बरञ्जाबाट भने करिब दुई घण्टा पैदलयात्रा गर्नुपर्छ। होटल तथा रेस्टुरेन्टको सुविधा नभएकाले पर्यटकले आवश्यक खाद्य सामग्री आफैँ व्यवस्थापन गर्नुपर्ने अवस्था छ।

निर्माण भएका पर्यटकीय पूर्वाधारको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले बुधबार उद्घाटन गर्नुभयो। उहाँले चिनाकोटसँगै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका अन्य पर्यटकीयस्थलमा पनि प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी गरिरहेको बताउनुभयो।

उहाँले निर्माण भएका पूर्वाधारको उपयोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र स्थानीयलाई आत्मनिर्भर बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो। स्थानीय जनप्रतिनिधि तथा अगुवाहरूले ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमार्फत स्थानीय समृद्धिको आधार तयार हुने विश्वास व्यक्त गरेका छन्। स्थानीयवासीले भने चिनाकोटमा थप संरक्षण, घेराबार तथा ऐतिहासिक सामग्रीको व्यवस्थित संरक्षणसँगै होटल, रेस्टुरेन्ट र अन्य आधारभूत पर्यटकीय सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

Facebook Comments Box