आज ‘जेनजी शहीद दिवस’, देशभर सार्वजनिक बिदा

काठमाडौँ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गरेसँगै पहिलोपटक यो दिवस मनाउन लागिएको हो । भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको दिन २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै हरेक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक आवाजमा परिणत भएको थियो ।

गत वर्ष २३ भदौमा काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको विरोधमा भोलिपल्ट २४ भदौमा देशभर प्रदर्शन भएको थियो । दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा आगजनी तथा तोडफोडसमेत भएको थियो ।

Facebook Comments Box