परेवाभिर सडकखण्ड आज पनि १२ घण्टा बन्द

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्ड आज दोस्रो दिन पनि १२ घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ। गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीका कारण सडकमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। यसअघि सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो।

प्रशासनका अनुसार आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ। शनिबार पनि सोही अवधिमा सडक बन्द गरी मर्मत गरिएको थियो। काम नसकिएपछि आज पनि आवागमन रोकेर मर्मतलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ। प्रशासनले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

Facebook Comments Box