बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्ड अवरुद्ध
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। काठमाडौँको चन्द्रागिरि–२ चिसापानी र ललितपुरको बागमती–३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ–७ कृष्णभिर र गजुरी–२ चालिसेमा सडक पूर्ण अवरुद्ध छ भने परेवा भिर र ज्वाङखोलामा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
काभ्रेको बीपी राजमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण अवरुद्ध छ। नुवाकोटको टोखा–छहरे सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, रोल्पाको सहिद राजमार्ग, मुगु–गमगढी सडक र कर्णाली राजमार्गअन्तर्गत कालीकोटको गगने खोलामा पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा वर्षाका बेला पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

