देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा अन्य केही तराई क्षेत्रमा पनि चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

