५८ वर्षपछि घर फर्किए यामबहादुर, दग्नाममा भयो पारिवारिक पुनर्मिलन
म्याग्दी । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजा ५८ वर्षपछि जन्मथलो फर्किनुभएको छ। ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि घर फर्किएपछि परिवारमा खुसी छाएको छ। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले उहाँ जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो। परिवारसँग उहाँको तस्बिरसमेत थिएन।
मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उहाँको घर फर्कने बाटो खुलेको हो। गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराउनुभएको थियो।
देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गर्नुभएको थियो। उक्त सामग्रीमार्फत परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए। देवानका अनुसार राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर नेपाल ल्याइएको हो। निमोनियाबाट बिरामी तिलिजालाई धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उहाँलाई दग्नाम ल्याइएको हो।
दग्नाम पुगेपछि तिलिजाका भाइ, बुहारी तथा परिवारका सदस्यले फूलमाला लगाएर स्वागत गरेका थिए। पाँच दशकभन्दा लामो समयपछि दाजुलाई भेट्न पाउँदा भाइहरू भावुक बने। तिलिजाका भाइ उदयचन्द्रले दाजुसँग पुनः भेट होला भन्ने आशा भए पनि खोजी गर्ने माध्यम नहुँदा सम्पर्क हुन नसकेको बताउनुभयो।
तिलिजा चार भाइमध्ये जेठा हुनुहुन्छ। उहाँका माइला भाइको निधन भइसकेको छ भने साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ। घरबाट निस्किएपछि तिलिजा लामो समय मणिपुरमै बस्नुभयो। भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तसँग मणिपुर पुग्नुभएका उहाँ सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काममा लाग्नुभएको थियो।
पढाइलेखाइ नभएकाले परिवारलाई चिठीपत्र पठाउन नसकेको र आर्थिक अभावका कारण घर फर्कन नसकेको तिलिजाले बताउनुभयो। मणिपुरमै विवाह गर्नुभएका उहाँकी छोरीको सात महिनामै मृत्यु भएको थियो भने त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भएको थियो। उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसक्ने भएपछि तिलिजाले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आउनुभएको थियो।
“परिवारसँग भेट्न पाएँ। जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ,” तिलिजाले भन्नुभयो, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु।” रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा घर फर्किएसँगै परिवारमा खुसी फर्किएको बताउनुभयो। उहाँका अनुसार परिवारले लामो समयदेखि तिलिजाको खोजी गरे पनि सम्पर्कमा ल्याउन सकेको थिएन। पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले वर्षौँदेखि हराएको आफ्नो सदस्य पुनः पाएको छ।

