श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

काठमाडौँ, १९ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभएको छ। श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्‍याउँदै आउनुभएका भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने उल्लेख गर्नुभएको छ। उहाँले श्रीकृष्णले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्नुभएको बताउनुभएको छ।

नेपालमा विशेषगरी ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी जन्माष्टमी मनाउने गरिन्छ। स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न तथा आपसी सद्भाव कायम गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य तथा सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

Facebook Comments Box