भोटेकोशी बाढी प्रभावितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल रुपाकोट मझुवागढीको सहयोग
खोटाङ, १९ भदौ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी बासस्थान निर्माण गर्न बाँस खरिदमा रु ६२ लाख नौ हजार आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले सम्बन्धित निकायसँगको समन्वयमा विपद् प्रभावित क्षेत्रमा बाँस तथा काठ उपलब्ध गराई अस्थायी बासस्थानलगायत संरचना निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।
नगरपालिकाका जनप्रतिनिधिबाट रु नौ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट रु ५२ लाख २० हजार उपलब्ध गराइनेछ। जनप्रतिनिधिले एक महिनाको सेवासुविधाबापतको रकम सहयोग गर्नेछन् भने कर्मचारी, शिक्षक तथा विद्यालय कर्मचारीको तहअनुसारको पारिश्रमिक कट्टा गरी रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाका वडा नं ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने निर्णय गरिएको छ। अन्य वडाबाट प्रतिवडा रु १५ हजारका दरले बाँस खरिद तथा ढुवानीका लागि खर्च व्यवस्थापन गरिने नगरपालिकाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। खोटाङलाई बाँसको राजधानीका रूपमा चिनिने भएकाले विपद् प्रभावित क्षेत्रमा बाँसबाट अस्थायी तथा अन्य आवश्यक संरचना निर्माणमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो।
उहाँका अनुसार बाँस प्रविधिसँग सम्बन्धित विज्ञ तथा सरोकारवाला निकायको समन्वयमा बाँसको वैज्ञानिक र आधुनिक प्रविधिबाट विभिन्न संरचना निर्माण गर्ने योजना अघि सारिएको छ। यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरिएको छ।
बाँस स्थानीयस्तरमै सहज रूपमा उपलब्ध हुने, नवीकरणीय तथा कम लागतमा संरचना निर्माण गर्न सकिने भएकाले यसको प्रयोग प्रभावकारी हुने नगरपालिकाको भनाइ छ। उचित प्रशोधन र संरचनात्मक डिजाइन गर्न सके बाँसबाट निर्मित संरचना करिब १० वर्षसम्म टिकाउन सकिने नगरप्रमुख भट्टराईले बताउनुभयो।
विपद् प्रभावित क्षेत्रमा साना सरकारी तथा सामुदायिक भवन, अस्थायी आवास, सेवा केन्द्र, प्रतीक्षालय, विद्यालय तथा स्वास्थ्यचौकीका अस्थायी संरचना निर्माणमा बाँस प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ। स्थानीय स्रोत, सीप र श्रमको उपयोग गरी रोजगारी सिर्जना गर्ने, दिगो पुनर्निर्माणलाई प्रवर्द्धन गर्ने तथा वैज्ञानिक प्रशोधन र संरचनात्मक मापदण्डमार्फत बाँसलाई भरपर्दो निर्माण सामग्रीका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ।
बाँसबाट निर्माण गर्न उपयुक्त सरकारी, सार्वजनिक, सामुदायिक तथा आवासीय संरचनाको आवश्यकता र प्राथमिकताबारे जानकारी उपलब्ध गराउन नगरपालिकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोधसमेत गरेको छ। नगरपालिकाले विपद्मा परेका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गर्न समेत आग्रह गरेको छ। दश स्थानीय तह रहेको खोटाङमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक अन्य स्थानीय तहले भने भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सहयोग गर्नेबारे हालसम्म निर्णय नगरेको जनाइएको छ।

