नुवाकोटमा एउटै घरबाट २३ शव भेटिए
नुवाकोट, १६ भदौ – नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोशी बाढीले पुरिएको एउटै घरबाट २३ जनाको शव फेला परेको छ । मंगलबार खोज तथा उद्धारका क्रममा घरको एउटै कोठाबाट २१ र बाहिरपट्टि दुईवटा शव फेला परेको उद्धारमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।
गएको बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले पुरेको तीनतले घरको माथिल्लो तलाको कोठामा शव फेला परेको हो । बाढी आएपछि ज्यान जोगाउन घरको माथिल्लो तलामा पुगेका व्यक्तिहरू बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
फेला परेका शवको भने हालसम्म पहिचान हुन सकेको छैन । शवसँगै झोलालगायतका सामग्री भेटिएकाले उनीहरू गोसाइँकुण्डतर्फ गइरहेका तीर्थयात्री हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेकामध्ये एक शव विदेशी नागरिकको जस्तो देखिएको प्रहरी अधिकारीले बताउनुभयो । “एउटै कोठामा २१ जना र बाहिरपट्टि दुई जनाको शव भेटिएको हो । एउटा शव विदेशीको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “शवसँगै झोला पनि भेटिएको छ । सायद उनीहरू गोसाइँकुण्ड हिँडेका यात्रु हुन सक्छन् ।”
बाढीको बहाव बढ्दै गएपछि उनीहरू ज्यान जोगाउन घरको माथिल्लो तलामा पुगेको देखिएको प्रहरीको भनाइ छ । छतभन्दा मुनिको कोठामा शव फेला परेको र एक महिलाले सानी बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव भेटिएको बताइएको छ । ती दुई आमाछोरी हुनसक्ने प्रहरीको अनुमान छ ।
घरबाट निकालिएका २३ शवमध्ये आठवटा सोमबार साँझ त्रिशूली अस्पताल लगिएको छ । बाँकी शव भने घरको छतमै रहेको प्रहरीले जनाएको छ । शवको पहिचान तथा थप खोजतलासको काम जारी रहेको छ ।

