कोशी र बागमतीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ, १५ भदौ। देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
देशका पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

