खुर्कोटमा सुनकोशीको जलसतह सतर्कता तह पार
सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७:०२ बजे गरिएको मापनमा नदीको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको हो। महाशाखाका अनुसार बिहान ६:५० बजे खुर्कोट जलमापन केन्द्रमा सुनकोशीको जलसतह ७.६९ मिटर पुगेको थियो। उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ।
अविरल वर्षाका कारण नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाशाखाले विशेष बुलेटिन जारी गरी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जलसतह सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय होचा तथा जोखिमयुक्त क्षेत्रमा डुबान र कटानको जोखिम बढेको छ। महाशाखाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।

