केही नदीमा जलसतह खतराको तह पार
काठमाडौँ । पछिल्लो भारी वर्षाका कारण देशका केही नदीमा जलसतह बढेर खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब तीन मिटर माथि पुगेको छ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेको महाशाखाले जनाएको छ।
यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी र यसका सहायक नदीमा समेत जलसतह बढ्ने सम्भावना रहेको छ। महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। सुनकोशी नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई समेत आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा धेरै भारी वर्षा मापन भएको थियो। त्यसको प्रभावले सिन्धुपाल्चोकभन्दा तल्लो तटीय क्षेत्रमा रहेका नदीमा जलसतह बढेको हो। नदीको जलसतह बढिरहेको अवस्थामा तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित रहन तथा बाढीसम्बन्धी पूर्वसूचनामा ध्यान दिन महाशाखाले अनुरोध गरेको छ।

