विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाखको क्षति

ओखलढुङ्गा, १० भदौ – सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। मङ्गलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

आगो फैलिएपछि कोटमाया कार्कीकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार आगलागीमा कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र रु २० हजार नगद जलेर नष्ट भएका छन्।

उक्त आगलागीबाट करिब रु १२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुवै घरमा गरी करिब रु २६ लाख बराबरको क्षति भएको छ। घटनामा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरी निरीक्षक साहले बताउनुभयो।

Facebook Comments Box