बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित
काठमाडौँ, ९ भदौ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मेची राजमार्गको इलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ। यसैगरी, बागमती प्रदेशका विपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
ती सडकमा बिहान ५ बजेपछि सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइएको छ। रातको समयमा भने यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्ग र बागलुङको कालीगण्डकी करिडोरमा पहिरो पन्छाएर एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ।
सुरक्षा निकाय तथा सडक विभागले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन्। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

