मनसुन सक्रिय, बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि देशभर बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने मौसमविद्ले बताएका छन्। विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box