पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ, ६ भदौ – वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन् ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म बन्द गरिएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो तथा सोही गाउँपालिकाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

यसैगरी, रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box