बंगलादेशमा ३५ वर्षपछि राष्ट्रपति निर्वाचन हुँदै

काठमाडौँ, ४ भदौ – बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाइएको छ। राष्ट्रपति पदका लागि सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी, बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ।

यसै वर्ष फेब्रुअरी १२ मा भएको आमनिर्वाचनबाट बीएनपी सत्तामा फर्किएको हो। संसदमा बीएनपीको दुई तिहाइभन्दा बढी बहुमत रहेकाले आलमगीरको जित सुनिश्चितजस्तै मानिएको छ। आलमगीर पेशाले अर्थशास्त्री हुनुहुन्छ। उहाँ सन् १९९० को दशकदेखि बीएनपीको राजनीतिमा सक्रिय हुनुहुन्छ। यसअघि उहाँ कृषि राज्यमन्त्री र स्थानीय सरकारमन्त्रीसमेत भइसक्नुभएको छ।

राष्ट्रपति निर्वाचनमा ३४९ सांसदले मतदान गर्नेछन्। मतदानपछि मतगणना प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ बंगभवनको दरबार हलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

यसअघि अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा हुनुअघि नै गत महिना राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको थियो। हाल बंगलादेशका सभामुख हाफिज उद्दीन अहमदले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ। बंगलादेशको संविधानअनुसार राष्ट्रपतिको पद रिक्त भएको ९० दिनभित्र नयाँ राष्ट्रपति निर्वाचित गरिसक्नुपर्ने व्यवस्था छ।

Facebook Comments Box