आजको मौसम : पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ भदौ – देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ ।
यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।
रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । त्यस्तै कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका पहाडी भूभागमा बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हुरीबतास तथा चट्याङको सम्भावना रहेका क्षेत्रमा समेत सावधानी अपनाउन आवश्यक देखिएको छ ।

