काभ्रे जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते
काभ्रेपलाञ्चोक, १ भदौ – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा खानीखोला–२ की २४ वर्षीया अनिता मोक्तान र खानीखोला–४ का ६१ वर्षीय कलकबहादुर माझी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते बनेपा नगरपालिका–१४ का २५ वर्षीय राहुल तामाङ, खानीखोला–३ का २४ वर्षीय प्रदीप जर्गामगर, खानीखोला–५ का बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ वर्षीय यसबहादुर तामाङलाई हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको छ।
प्रहरीका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ। पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत खानीखोलाबाट बनेपातर्फ आउँदै गरेको जीप सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा जीपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ।

