बागमतीमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान
मकवानपुर, १ भदौ – बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले सोमबार विज्ञप्ति जारी गर्दै संविधानअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई यही भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार नै पदबाट राजीनामा दिनुभएको थियो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उहाँले प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्नुभएको हो।
गत साउन ६ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। अब प्रदेश प्रमुखको आह्वानअनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले सम्बन्धित दलहरूको समर्थनसहित मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्नुपर्नेछ।

