नियत सफा भए चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खोल्न सकिन्छ : प्रधानमन्त्री शाह
काठमाडौँ, २३ साउन – प्रधानमन्त्री बालेन्द्र शाहले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने बताउनुभएको छ। फेसबुकमार्फत दोस्रोपटक धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको नेतृत्वमा राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनःजीवन्त र प्रतिस्पर्धी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभएको हो।
उहाँका अनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा दुई करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको जीएमपी मापदण्ड प्राप्त गरेपछि गत आर्थिक वर्षमा कम्पनीले तीन करोड रुपैयाँ नाफा कमाएको र चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको र तान मर्मतपछि केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको उहाँले जानकारी दिनुभएको छ। त्यस्तै, नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र जहाजको सिट उपयोगिता ८६ प्रतिशत पुगेको प्रधानमन्त्री शाहको भनाइ छ।
दुग्ध विकास संस्थानले किसानको बक्यौता भुक्तानी चक्र घटाएको, दूध बिक्री बढेको र कर्मचारीलाई दिइँदै आएको सुविधामा कटौती गरी वार्षिक करिब तीन करोड रुपैयाँ बचत गरिएको उहाँले उल्लेख गर्नुभएको छ। घ्यू, बटर र छुर्पी विदेश निर्यातको तयारी भइरहेको पनि उहाँले बताउनुभएको छ।
यसैगरी, सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरेको र हाल एक सय पाँच प्रकारका औषधि उत्पादन भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहेमा रुग्ण अवस्थामा रहेका अन्य सरकारी उद्योग तथा संस्थानलाई समेत पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गर्नुभएको छ।

