सात निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौँ, २२ साउन – सार्वजनिक खरिद अनुगमन कार्यालयले चार सार्वजनिक निकायको सिफारिसका आधारमा सात निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार जारी गरेको सूचनामा ईश्वरणी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्ष ६ महिना, अपन निर्माण सेवालाई दुई वर्ष तथा खड्क निर्माण सेवा–एन.एल. कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि–माण्डौँ निर्माण सेवा संयुक्त उपक्रम र एम.आर.–आरजे जेभी–आशिष कन्स्ट्रक्सन संयुक्त उपक्रमलाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।
विराटनगर महानगरपालिका, सूर्या नगरपालिका, बझाङको छबिसपाथिभेरा गाउँपालिका तथा राजविराजस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको सिफारिसका आधारमा यी कम्पनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो। कार्यालयका अनुसार कालोसूचीमा परेका व्यक्ति, फर्म वा कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।


