सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्न कोशी प्रहरी प्रमुखको निर्देशन
विराटनगर, २२ साउन – कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष ट्राफिक अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षणका क्रममा उहाँले तीव्रगति, ओभरलोड तथा मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी चलाउने चालकमाथि कडाइका साथ कारबाही गर्न निर्देशन दिनुभयो।
उहाँले राडर गन, सिसीटिभी र मापसे तथा लागुऔषध परीक्षण उपकरणजस्ता आधुनिक प्रविधिको प्रभावकारी प्रयोग गर्दै ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन आग्रह गर्नुभयो। प्रहरी नायब महानिरीक्षक खनालले लामो दूरीका यात्रुवाहक सवारीमा दुई जना चालकको व्यवस्था, सरकारले तोकेको भाडादर, आरक्षण सिट तथा टाइमकार्डको पालना भए–नभएको नियमित अनुगमन गर्न पनि निर्देशन दिनुभयो। साथै, ट्राफिक जाँचका क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख नदिई शिष्ट र मर्यादित व्यवहार गर्न उहाँले प्रहरी कर्मचारीलाई आग्रह गर्नुभएको छ।

