जन्मसिद्ध नागरिकतामा ट्रम्पको नयाँ कदम, ‘बर्थ टुरिजम’ रोक्न दुई कार्यकारी आदेश
वासिङ्टन, २२ साउन – अमेरिकी राष्ट्रपति Donald Trump ले जन्मसिद्ध नागरिकतासम्बन्धी व्यवस्था सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ। नयाँ आदेशअनुसार निश्चित अवस्थाका अभिभावकबाट अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यास, अर्थात् ‘बर्थ टुरिजम’ रोक्ने कदम पनि अघि बढाइएको छ।
राष्ट्रपति ट्रम्पले यो व्यवस्था धेरैअघि नै लागू हुनुपर्ने बताउँदै यसमार्फत आप्रवासन प्रणालीको दुरुपयोग रोक्न खोजिएको दाबी गर्नुभएको छ। ट्रम्प प्रशासनले केही विदेशी नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गरिरहेको आरोप पनि लगाएको छ। यसअघि ट्रम्पले दोस्रो कार्यकालको सुरुआतमै जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश जारी गर्नुभएको थियो।
तर अमेरिकी सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयन गर्न नपाइने निर्णय गर्दै संविधानले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् राखेको थियो। कानुनविद्हरूले भने नयाँ आदेशका केही प्रावधान कानुनी परीक्षणमा टिक्न सक्ने भए पनि, अमेरिकामा जन्मिएका शिशुलाई नागरिकता नदिने व्यवस्था भने संवैधानिक विवादको विषय बन्न सक्ने बताएका छन्।

