पहिरो र बाढीले देशका प्रमुख राजमार्ग प्रभावित, केही सडक पूर्ण रूपमा अवरुद्ध

चितवन, २० साउन – अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्डमा पहिरो तथा बाढी जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, मुस्ताङको बेनी–जोमसोम सडकखण्ड र रुकुम पश्चिमको भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध छन्। त्यसैगरी रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक र दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा पनि बाढीका कारण सवारी आवागमन बन्द रहेको छ।

सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म तथा मकवानपुरको कान्ति लोकपथको हेटौँडा–ठिङ्गन खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

यता काठमाडौँको सितापाइला–धार्के सडक, भोजपुरको मध्यपहाडी लोकमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मनाङको चामे–बेँसीसहर सडकखण्डमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ। नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Facebook Comments Box