जुम्लामा चार सय वर्ष पुरानो मानिएको देवदार ढल्यो, स्थानीयमा चिन्ता र भावनात्मक पीडा

कर्णाली, १९ साउन – जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको चार सय वर्ष पुरानो मानिएको विशाल देवदारको रुख ढलेपछि स्थानीयवासीमा चिन्ता र भावनात्मक पीडा छाएको छ। स्थानीयका अनुसार पुस्तौँदेखि आस्था, छायाँ र प्राकृतिक सम्पदाको प्रतीक मानिँदै आएको उक्त देवदार साउन १७ गते ढलेको हो। रुखको उमेरबारे वैज्ञानिक पुष्टि नभए पनि स्थानीयले यसलाई ऐतिहासिक र धार्मिक महत्वको धरोहरका रूपमा जोगाउँदै आएका थिए।

स्थानीय बासिन्दाका अनुसार विसं २०३२ मा रुखको टुप्पो भाँचिएपछि पानी पसेर जरा कुहिन थालेको र त्यसकै कारण अहिले ढलेको हुनसक्ने अनुमान गरिएको छ। करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ रहेको रुख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्का खम्बा र धानबालीमा सामान्य क्षति पुगेको भए पनि मानवीय क्षति भएको छैन।

स्थानीयले उक्त स्थानमा मन्दिर वा चौतारी निर्माण गरी ऐतिहासिक सम्झना संरक्षण गर्न सरकारसँग माग गरेका छन्। डिभिजन वन कार्यालय जुम्लाले भने ढलेको देवदारको वास्तविक उमेर, प्राकृतिक विशेषता र ऐतिहासिक महत्वबारे वैज्ञानिक अध्ययन गरिने जनाएको छ।

Facebook Comments Box