सुनकोसीमा कारसहित बेपत्ता तीन जनाको खोजी जारी, गोताखोरसहित सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १९ साउन – सिन्धुलीको सुनकोसी नदीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीका लागि आज बिहानैदेखि गोताखोरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा कार करिब ३० मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीका १७ वर्षीय सुरज बलम्पाकी र २८ वर्षीय गणेश थापा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोली र नेपाल प्रहरी संयुक्त रूपमा खोजी तथा उद्धारमा खटिएका छन् । तर, सुनकोसी नदीमा आएको बाढी र तीव्र बहावका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बसका चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box