प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै
काठमाडौँ, १९ साउन – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा दर्ता गरिएको वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा लालपूर्जा वितरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुने कार्यक्रम छ ।
यसैबीच, आज अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन गरी पाँच संसदीय समितिको बैठक पनि बस्दैछ । विभिन्न बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक, पर्यटन विधेयक, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्था, नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक तथा सरकारी आश्वासनका विषयमा छलफल हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

