विश्व बाघ दिवस आज, नेपालको नयाँ बाघ गणनाको नतिजा सार्वजनिक हुँदै
काठमाडौँ, १३ साउन – आज विश्व बाघ दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। यस अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्ने भएको छ। हरेक चार वर्षमा गरिने बाघ गणनाअनुसार सन् २०२२ मा नेपालमा ३५५ वटा पाटेबाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। यसपटक भने संरक्षण क्षेत्रमा बाघको बासस्थान सुधार, आहारा प्रजातिको वृद्धि तथा मध्यवर्ती क्षेत्रमा समेत बाघको उपस्थिति बढेकाले बाघको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।
नेपालले बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गर्दै सन् २०१० मा १२१ रहेको बाघको सङ्ख्या सन् २०१४ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ पुर्याएको थियो। यससँगै नेपाल विश्वमै बाघ संरक्षणको सफल उदाहरणका रूपमा स्थापित भएको छ।
हाल नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा मात्रै बाघ पाइन्छ। विश्वभर भने बाघ एसियाका १३ देशमा मात्र पाइने गर्छन्। सन् २०२५ को तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या पाँच हजार ३५७ पुगेको छ, जसमा सबैभन्दा धेरै भारतमा रहेका छन्।
यस वर्षको बाघ सर्वेक्षण तीन महिनासम्म सञ्चालन गरिएको थियो। बाघको बासस्थानलाई विभिन्न ब्लकमा विभाजन गरी करिब एक हजार १०० वटा स्वचालित क्यामेरा जडान गरेर खिचिएका तस्बिरको विश्लेषणमार्फत बाघको सङ्ख्या निर्धारण गरिएको हो।
यद्यपि, बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र समस्याग्रस्त बाघको संरक्षण चुनौतीका रूपमा देखिएको छ। हाल देशभर १६ वटा समस्याग्रस्त बाघलाई विभिन्न इन्क्लोजरमा राखिएको छ। यिनको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चितवनको देवनगरमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ।

