देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १२ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका विभिन्न क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसमविद्ले भारी वर्षाका कारण बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी किनार र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा यात्रा गर्दा मौसमसम्बन्धी पछिल्लो सूचना पालना गर्न आग्रह गरेका छन् ।

