आज देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द
काठमाडौँ, १२ साउन – नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । संघले जारी गरेको विज्ञप्तिअनुसार सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा मंगलबार आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा स्थगित गरिनेछ ।
संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण भएको, अस्पतालमा तोडफोड गरिएको तथा केही स्वास्थ्यकर्मी घाइते भएका थिए । घटनाका दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै चिकित्सकहरूमाथि दुर्व्यवहार भएको आरोप पनि संघले लगाएको छ । नेपाल चिकित्सक संघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरेको छ ।

