डा. गोविन्द केसीसँग आज निर्णायक वार्ताको तयारी, सहमति नजिक पुगे दुवै पक्ष

काठमाडौं । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित माग राखेर अनशनरत प्राध्यापक डा. गोविन्द केसीसँग सरकारको निर्णायक वार्ता आज हुने भएको छ । आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच करिब १२ घण्टा लामो छलफल भएको थियो । छलफलमा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषयमा सहमति जुट्न बाँकी रहेपछि अन्तिम निर्णय हुन सकेन ।

डा. केसी पक्षका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सिट संख्या सम्बन्धी विषयमा थप छलफल आवश्यक रहेकाले सोमबार बिहान १० बजे पुनः वार्ता गर्ने सहमति भएको हो । स्रोतका अनुसार सरकार विश्वविद्यालयको नियमित काम प्रभावित नहुने गरी कानुनी र वैकल्पिक व्यवस्थाको विकल्पमा छलफल गरिरहेको छ । विवादित नियुक्तिका विषयमा पनि समाधान खोज्ने प्रयास जारी रहेको जनाइएको छ ।

डा. केसीले विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा भएका स्वार्थपरक नियुक्ति खारेज, चिकित्सा शिक्षासम्बन्धी ऐन कार्यान्वयन, निजी मेडिकल कलेजका सिट वृद्धिको निर्णय पुनरावलोकन, विगतका सहमति कार्यान्वयन तथा स्वास्थ्य, शिक्षा र सुशासनसँग सम्बन्धित विभिन्न माग अघि सार्दै गत बिहीबारदेखि अनशन सुरु गरेकाे हो ।

स्वास्थ्य अवस्था कमजोर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । वार्तामा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य तथा शिक्षा मन्त्रालयका उच्च अधिकारी र डा. केसीका प्रतिनिधिहरू सहभागी छन् ।

Facebook Comments Box