काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
झापा, १० साउन – पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएको छ। एसियाली विकास बैंकको ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो सडकलाई पाँच वटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजना पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्डमा काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक विस्तार गरिँदै छ।
आयोजनाका अनुसार पहिलो प्याकेजको भौतिक प्रगति ४७ प्रतिशत, दोस्रो प्याकेजको ४२ प्रतिशत र तेस्रो प्याकेजको १९ प्रतिशत पुगेको छ।
आयोजनाका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा हालसम्म १६ दशमलव ५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ। मौसम अनुकूल भए दैनिक चार सयदेखि आठ सय मिटर सडक कालोपत्र गर्ने तथा एक सातामा करिब सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको आयोजनाले जनाएको छ। वर्षायामका कारण केही अवरोध भए पनि निर्माणकार्यलाई निरन्तरता दिइएको छ।
विसं २०८० माघदेखि निर्माण सुरु भएको काँकडभिट्टा–लौकही सडक आयोजना २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल सडकको बीच भागमा तीन मिटर चौडा डिभाइडर निर्माण गर्दै दुवैतर्फ सडक विस्तारको काम एकसाथ भइरहेको आयोजनाले जनाएको छ।

