वालेट खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकद्वारा निर्देशिका संशोधन
काठमाडौँ, ९ साउन – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ। भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित निर्देशिकाअनुसार अब नेपाली नागरिकका लागि वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।
त्यस्तै, भुक्तानी सेवा प्रदायक संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचयपत्र प्राप्त गरेका नेपाली नागरिकले पनि २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। परिचयपत्र नलिएका प्रयोगकर्तालाई भने परिचयपत्र प्राप्त गरेपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था भने यथावत् राखिएको छ। उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण सम्बन्धित संस्थामा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। यस्तै, आफ्नै हेरचाह गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबाहेक अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था संशोधित निर्देशिकामा समावेश गरिएको छ।

