जसपा ठाकुर-महतो पक्षको आज नवलपरासी र बर्दियामा अगुवा कार्यकर्ता भेला
काठमाडौं, २५ साउन – पार्टीको आधिकारिकता गुमाएको जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षले आज पनि तराई मधेशका दुई जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर-महतो समूह यतिबेला दलबिहीनको अवस्थामा छ। नयाँ पार्टी गठनको तयारीस्वरुप यो समूह अहिले तराईका सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिरहेको छ। यो समूहले आज नवलपरासी र बर्दियामा अगुवा कार्यकर्ता भेला गर्न लागेको हो।
गएको शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म सञ्चालन हुने ठाकुर महतो समूहले जनाएको छ। ठाकुर महतो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा, कैलाली, सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला गरिसकेको छ।
आज नवलपरासीमा हुने भेलालाई नेताहरु राजेन्द्र महतो, सर्वेन्द्र नाथ शुक्ल र मुकेश झाले सम्बोधन गर्दैछन्। त्यसैगरी बर्दियामा एकबाल अहमद र सुनिल रोहितले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले जानकारी दिए।

